A story of Kotihom (Meditation place of Kalinchok baba)

Major Kotihom temple.

आज (2079 असार 27) विहान म सँग १.५ घण्टा जति समय खालि भयो । म प्रशासन कार्यालयको आसपासमा थिए । के गरौ के गरौ भाको थियो । माथितिर हेर्दा कोटिहोम देखे र त्यतै लागे अनि लेखे कोटिहोमको कथा । दोलखा जिल्लाको भिमेस्वर नगरपालिका ३ नं वडामा रहेको कोटीहोम प्रायले सुनेको नाम हो । कोटीहोम को शाब्दिक अर्थ हुन्छ कोटी भनेको करोड होम भनेको देवीदेवताको नाममा गर्ने होम । यसैले यस ठाँउमा कालिन्चोक वावा भनेर चिनिने शान्ता नन्द वावाले १२५ जना ब्राह्मण ल्यायर १ करोड २५ लाख होम गरेकोले यस ठाँउलाई कोटिहोम भनिएको रहेछ । कालिन्चोक वावा सानैबेला देखि अन्न त्याग गरि बनारस गइ चार बेदमा पुर्ण भइ फर्के पश्चात गायत्री ध्यान गर्छु भनि ठाँउ खोज्दा खोज्दा दोलखाको कालिन्चोकमा गई विना अन्न ध्यान गर्नु भएको रहेछ । त्यहाँ १७ वर्ष अन्न नखाइ ध्यान गरि बसेकोले सामान्यतया उहाँलाई कालिन्चोक वावा भनेर चिनिने रहेछ तर उहाँको वास्तविक नाम शानतानन्द रहेछ ।पहिले जन्म पश्चातको नाम भने बुझ्न सकिएन । उहाँ रामेछाप तिरको तामाङ्ग समुदायमा जन्मनु भएको बुझ्नमा आयो । तामाङ्ग परिवारको भएर पनि बेद, पुराणमा निपुण वावा कालिन्चोकमा गायत्री ध्यानको सफलता पुर्वक सकेपछि अब करोड होम गर्छु भनेर उचीत ठाँउ खोज्दै जाँदा हालको कोटीहोम क्षेत्रलाई चुन्नु भएको रहेछ ।

२०५२ सालमा बैशाख महिनामा १२५ जना ब्राह्मण ल्याएर एक महिना भरि राखि १ करोड २५ लाख होम गर्नुभएको रहेछ । यस्तै १८ पुराण पाठ गराउनु भएको रहेछ । यसै कारणले यस क्षेत्रलाई कोटीहोम भनिएको रहेछ । यस स्थानको मन्दिर तथा संरचनाहरु निर्माण गर्दा सबै दानदातव्य बाट उठेको रकमले बनाउनु भएको रहेछ । कुनै निकायको सहयोग लिदा त्यस ठाँउमा भ्रष्टचार र राजनिति हुनेहुनाले कुनै निकायसंस्थाको दान नलिएको भनेर कालिन्चोक वावाले भन्नुहुन्थ्यो भनेर त्यहाँका एकजना आधिकारीक व्यक्तिले भन्नु भएको थियो तथापी पनि हाल आएर भिमेस्वर नगरपालिकाको सहयोगमा एउटा साधनाकेन्द्र बनिरहेको देखिन्छ । कालिन्चोक वावालाई रक्षा गर्ने कालिन्चोक माताले वाचा गर्नु भएको थियो रे ।

उहाँ यस स्थानमा एक्लै बस्दा पनि उहाँको रक्षा गर्नका लागि वरीपरी कालिन्चोक माताले पठाउनुभएको सिंहहरु हुन्थे रे भन्ने भनिदोरहेछ । हाल वावा हुनुहुन्न उहाँ २०७१ सालमा बित्नु भएको रहेछ । वावा बिते पनि उहाँको मार्गलाई निरन्तराता दिनको लागि एकजना उहाँले चेली मानेको एकजना पाखाटोल तिरको महिला हुनुहुदो रहेछ । वावाको समाधि स्थलमा हाल एउटा विशाल साधनाकेन्द्र बनिरहेको छ अन्य मन्दिरहरु भने पहिले जस्तै नै रहेको छ । माछा पोखरीमा पानीको सतह घटेको देखिन्छ । पहिले शुरुवातमा यस कोटिहोमको जुन क्षेत्रफल १.५ हेक्टर रहेको थियो त्यसै क्षेत्रफलमा हस्पिटल, नगरपालिकाको कार्यालय, वनको नर्सरी क्षेत्र बन्दै जाँदा घटेर १६ रोपनी रहेको बुझ्नमा आयो । दर्शनार्थी माझ कम मुल्य पाएको यस क्षेत्रको मुल्य कुनै मुल्याङ्कन गर्न नसकिने मुल्य रहेको छ भन्ने मेरो बुझाइ रह्यो । एउटा तपोभुमी भनेर पनि यस क्षेत्रलाई बुझ्दा कुनै फरक नपर्ने देखिन्छ । यस्तै जो घर, गृहस्थी, सम्पत्ती त्यागेर त्यस्तो मार्गमा हिड्न चाहान्छन उनिहरुको लागि यस ठाँउ एउटा मिठो ध्यानकेन्द्र रहेको छ । यसको वरीपरी तारवार लगाउनु हरियाली बनाउनु आवश्यक रहेको देखिन्छ । हाल यस क्षेत्र कालिन्चोक शान्तानन्द धर्म कर्म सेवा समितिले व्यवस्थापन गरिरहेको रहेछ । भौतिक संरचनामा हाल यस स्थानमा ५ वटा घरहरु रहेको छ । क्षेत्रफलको हिसाबले खुम्चदै गएको यस क्षेत्र अझ खुम्चनु हुदैन भन्ने मेरो मान्यता हो । यस्तो ठाँउलाई शान्त ठाँउमा राख्दा राम्रो हुने मेरो ठम्याई रह्यो । मन्दिरको ढोकाहरु जिर्ण अवस्थामा रहेको छ यस्को मर्मत गर्नुपर्ने पनि देखिन्छ ।

शान्त स्थान शान्त रहोस ।

पढे पस्चात प्रचारको लागि एकपल्ट शेयर पनि गरिदिनुहोला ।

If you like the post? Do share on

Leave a Reply

Your email address will not be published. Required fields are marked *